बोल्न नसक्ने छोराको आफ्नै बाबुद्वारा हत्या

 आवाज अनलाइन     ११ बैशाख २०७६, बुधबार

दोलखा, बैशाख ११

दोलखा जिल्ला शैलुङ गाउँपालिका ४ आहालेका ४४ वर्षीय चुडाबहादुर रेग्मीलाई छोरा मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै २२ वर्षीय छोरा वेदबहादुर रेग्मीको हत्या अभियोगमा रेग्मीलाई आज प्रहरीले पक्राउ गरेको हो । दुई साता अघिदेखि हराएका वेदबहादुरको शव आज प्रहरीले खहरेखोलाबाट बरामद गरेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा छोरा बोल्न नसक्ने, जथाभावी फोहोर गरिदिने भएकोले हत्या गरेको अभियुक्तले स्विकारेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।
जन्मजात बोल्न नसक्ने र जथाभावी दिसा पिसाब गरिदिने गरेका वेदबहादुरलाई यही बैशाख २ गते पनि फोहोर गरेको भन्दै चुडाबहादुरले हथौडाले टाउकोमा प्रहार गरेको र तत्कालै उनको मृत्यु भएपछि कम्बलमा पोको पारी खहरे खोलामा फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
अभियुक्त वेदबहादुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको र वेदबहादुरको शवको पोष्टमार्टम समेत भैसकेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF