विप्लव माओवादीले १५ दिन भित्र जनसरकारमा दर्ता गरी कर तिर्न उर्दी

 आवाज संवाददाता     २ श्रावण २०७३, आईतवार

दोलखा, २ साउन
केही महिनादेखि अर्धभुमिगत राजनीति गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले समानान्तर सरकार सञ्चालन गरेको जनाएको छ । जनसरकारका नाममा  पत्र लेख्दै माओवादीले १५ दिनभित्र सरकारको कार्यालयमा उपस्थित भई दर्ता गर्न र कर तिर्न उर्दी नै गरेको छ ।
विप्लव माओवादीले जिल्ला जनसरकार दोलखाको नाममा उद्योमी व्यवसायीहरुलाई पत्र पठाएर १५ दिनभित्र जनसरकार कार्यालयमा उपस्थित भई कर तिर्न निर्देशन गरेको छ । माओवादीले जनयुद्धका बेला पनि समानान्तर सरकार सञ्चालन गरेर व्यवसायीहरुसँग करका नाममा चन्दा असुल्दै आएको थियो । अहिलेको लेखेको पत्र पनि जनयुद्धकै झल्को दिने गरी लेखेको छ ।
“शान्तिप्रक्रिया पछि संसदवादी दलालहरुको षड्यन्त्र र प्रचण्ड, बाबुराम गुटको धोक हुँदा, जनयुद्धबाट स्थापित जनसत्ता विघटन हुन पुग्यो” पत्रमा उल्लेख छ “क्रान्तिलाई निरन्तरता दिएको छ भने राज्यसत्ताको हकमा पनि जनताको सत्ताबाहेक सबै भ्रम हो भन्ने मान्यतालाई पड्कदै प्रतिक्रियावादी संसदीय व्यवस्था र भारतीय विस्तारवादी हस्तक्षेप विरुद्ध जनताको राज्यसत्ता पुनस्र्थापना गर्ने निर्णय लिएको छ ।”
नेकपा माओवादी दोलखाका सेक्रेटरी अर्जुन योगीले जनसरकारमा दर्ता गर्न र कर तिर्ने निर्देशन गरेको स्वीकार गरे । “क्रान्ति र प्रतिक्रान्तिको सङघर्षमा पुरानो संसदीय व्यवस्था पुनस्र्थापित भए जनता र क्रान्तिकारी शक्तिको बुझाइमा पुरानो सत्ता सहजै स्थापित र परिचालित हुने अवस्था छैन” उनले भने “नयाँ आर्थिक वर्ष सुरु भएकाले अब पुरानो सरकारमा दर्ता गरे झैं जनसरकारमा पनि दर्ता हुनु पर्छ ।”
देशको सम्पत्तिको हिनामिना पार्टीका नेताहरुकै संलग्नतामा भइरहेको छ । यी सबै विकृति, विसङगति, असुरक्षाबाट मुक्ति माओवादी र जनताको सत्ताले मात्र दिन सक्ने विश्वास जनतामा भएको उनले दाबी गरे । प्रतिक्रान्ति, प्रतिक्रियावादी संसदीय राज्यसत्ताका साथै भारतीय विस्तारवादी हस्तक्षेपको समाधान जनताको जनवादी राज्यसत्ताको स्थापना हुने माओवादीको विश्लेषण भएको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।