आगलागी हुँदा २ घाइते, ७ करोडको क्षति

 आवाज अनलाइन     २ जेष्ठ २०७६, बिहीबार

दोलखा, जेठ २

आज विहान करिब १ः३० बजे भीमेश्वर नगरपालिका ३ चरिकोट बसपार्कस्थित एक घरमा आगलागी हुँदा २ जना घाइते भएका छन् भने ७ करोड बराबरको क्षति भएको छ ।
चरिकोट बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहाना टायर रिसोलिङ सेन्टरमा अचानक करेन्ट सर्ट भई आगलागी हुँदा तुनाबहादुरकी पत्नी राधा खत्री र छोरा राजु खत्री घाइते भएका हुन् । हावा भर्ने ग्यास पड्किँदा राधा बेहोस भएको र सटर खोली भाग्ने क्रममा आगोले पोली राजु घाइते भएको प्रहरीले जानकारी दिएको छ । अहिले दुबैको अवस्था सामान्य रहेको छ ।
आगलागीबाट घरको पहिलो तलामा रहेको गाडीको ट्युब, टायर तथा मोबिल, तेस्रो र चौथो तलामा रहेको मोटरसाइकलको सामान गरी करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
भीमेश्वर नगरपालिकाको दमकल समेतको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको प्रयासमा करिब सवा ५ बजे आगलागी नियन्त्रणमा लिईको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।