दोलखा भीमेश्वरमा पुर्खाले चढाएको घण्टा प्रतिस्थापित

 आवाज अनलाइन     ४ जेष्ठ २०७६, शनिबार

दोलखा, जेठ ३

प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरमा १ सय ३३ वर्षअघि आफ्ना पुर्खाले चढाएको जीर्ण घण्टा प्रतिस्थापन गरिएको छ ।
दोलखा मागामा जन्मिएका कमाण्डिङ कर्णेल फौदसिंह खत्रीले १९४३ सालमा भीमेश्वर मन्दिरमा चढाएको धार्मिक कीर्ति घण्टा जीर्ण भएपछि उनका सन्ततीहरुले नयाँ घण्टा प्रतिस्थापना गरेका हुन् ।
आज भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी र कमाण्डिङ कर्नेल फौदसिंह कुलायन समाजका अध्यक्ष तथा पूर्व सहायक रथी हिमालय विक्रम खत्रीले विधिपूर्वक पूजापाठ गरी घण्टा बजाएर संयुक्त रुपमा प्रतिस्थापन गरेका हुन् ।
कमाण्डिङ कर्नेल फौदसिंह कुलायन समाजमा आबद्ध ३९ जना सन्ततीहरुले ११ लाख ५३ हजार ६ रुपैयाँको लागतमा घण्टा बनाएको अध्यक्ष हिमालय विक्रम खत्रीले जानकारी दिए । उनले नेपालको धर्म, संस्कृति र पुर्खाको इतिहासलाई बचाइराख्न आफूहरुले घण्टा प्रतिस्थापित गरेको बताए ।
सुन, चाँदी, तामा, पित्तल, ढलोट, फलाम लगायतका धातु मिसाएर करिब तीन महिना लगाएर बनाएको घण्टा करिब अढाई टनको छ ।
नयाँ घण्टा प्रतिस्थापित कार्यक्रमलई सम्बोधन गर्दै भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले सन्ततीहरुले पुर्खाको योगदानको संरक्षण र संवद्र्धन गर्नाले नै इतिहास बलियो हुने बताए । नयाँ घण्टा पुनःस्थापना गरेसंगै पुरानो घण्टालाई भीमेश्वर मन्दिर संग्राहलयमा राखिने दोलखा गुठीले जनाएको छ ।
कार्यक्रमका भीमेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले, दोलखाका पूर्व प्रमुख जिल्ला अधिकारी तथा फौदसिं कर्णेलका सन्तती अम्बिका केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।