सञ्चार सामग्री प्रदर्शन गर्दै विधेयकको विरोध

 आवाज अनलाइन     ४ जेष्ठ २०७६, शनिबार

दोलखा, जेठ ३

पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्ध विरोध प्रदर्शन गरेका छ ।
विधेयक मार्फत सञ्चार मन्त्रीले काउन्सिललाई आफ्नो भर्ती केन्द्र बनाई सञ्चार माध्यमलाई आफ्नो मुखपत्र बनाउन खोजेको भन्दै महासंघले विहान ११ बजे सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यलयमा विरोध तथा प्रदर्शन गरेको हो ।
केन्द्र तथा जिल्लाका सञ्चार गृहमा कार्यरत दर्जनौं पत्रकारहरुले प्रयोग गर्ने सञ्चार साधनहरु प्रशासन कार्यलय अगाडि प्रदर्शन गर्दै विरोध जनाएका छन् । साथै नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जीवन लामाले सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेलाई ४ बुदे ध्यानाकर्षण पत्र बुझाए ।
महासंघले पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवान गराउन सक्ने, सरकारले चाहेमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई दण्ड गर्न सक्ने असीमित अधिकार भएको विधेयकलाई तत्काल फिर्ता गर्न र सरोकारवाला मिडिया संघसंस्था र निकायहरुसंग छलफल गरेर मात्र अघि बढ्न भनेका छन् ।
ध्यानाकर्षण पत्रमा दोलखाका विभिन्न स्थानीय तहका सरकारले मिडियाहरुसंग सम्बन्धित नीति तथा कानुन निर्माण गर्दा आगामी दिनमा मिडियासम्बद्ध संघसंस्था र निकायहरुसंघ परामर्श र छलफल गरेर मात्र पास गर्न भनेका छन् ।
संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्धको प्रदर्शन कार्यक्रममा सहभागिता जनाउँन जिल्लाका सवै सञ्चार माध्ययम तथा पत्रकारहरुलाई पत्रकार महासंघ दोलखाले यसअघि नै पत्राचार गरेका थिए ।
विधेयकसहितका कानुनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित हुँदै आएको छ ।
पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको पत्रकार महासंघ दोलखाले जनाएको छ । महासंघको विरोध कार्यक्रममा नेपाल प्रेस युनियन दोलखा शाखाले पनि ऐक्यवद्धता जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।