पुर्ननिर्माणमा खटिएका इन्जिनियर काम बिहीन

 आवाज संवाददाता     ३ श्रावण २०७३, सोमबार

 

दिलबहादुर केसी
दोलखा, ३ साउन

सरकारले भुकम्प पीडितको भुकम्प प्रतिरोधी घर निर्माणमा सघाउन भन्दै ३ महिना अघि पठाएका इन्जिनियरहरु काम बिहीन भएका छन् । भुकम्प पीडितका घर बनाउन सम्झौता समेत नसकिएपछि इन्जिनियरहरु ३ महिनादेखि बेरोजगार झै भएका हुन् ।
काम नभएपछि इन्जिनियरहरु कहिले गाउँ घुम्ने, कहिले सदरमुकाम सहितका बजार डुल्ने र आलोपालो घर जाने गरेका छन् । भुकम्प पीडितका घर बनाउन भन्दै बैशाख दोस्रो साता नै सरकारले गाउँ गाउँ इन्जिनियर पठाएको थियो ।
दोलखामा मात्र इन्जिनियर ८५ जना, सब इन्जिनियर र प्राविधिक सहयोगी ८६ जना गाविस र नगरपालिकामा खटाएको थियो । हरेक गाविस र नगरपालिकाका वडामा एक इन्जिनियर, एक सव इन्जिनियर र एक सहयोगीको व्यवस्था गरेको छ । इन्जिनियर परिचालनको काम सहरी विकास तथा भवन डिभिजन कार्यालयले गरे तापनि सम्बन्धित गाविस तथा नगरपालिकाको काम गर्ने उल्लेख छ ।
“घर बनाउनु भनेर गाउँमा पठाए अहिलेसम्म केही काम छैन” एक इन्जिनियरले भने “गाउँमा के गरेर बस्ने, घुम्ने काम २÷४ दिनमा सकियो, सुत्नु कति सुतेर बस्नु ?” गाविससँग मिलेर काम गर भने पनि गाविससँग के काम गर्ने स्पष्ट नभएको अर्का इन्जिनियरले बताए ।
गाविसमा इन्जिनियरहरुलाई भुकम्प पीडितसँग सम्झौता, पीडितका गुनासो भर्ने काम समेत दिएको छ । प्राविधिक काम गर्नुपर्नेमा सानो तिनो कागजी कामले आफूहरुलाई अल्झाएको उनीहरुको गुनासो छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय चरिकोटका प्रमुख एकराज अधिकारीले गाविस र नगरपालिकाले भुकम्प पीडितसँग सम्झौता ढिला हुँदा इन्जिनियरहरु काम बिहीन भएको बताए । गाविस सचिवहरुले सम्झौताको काम ढिला गरेकाले घर निर्माणको काम नभएको बताए ।
इन्जिनियरहरुलाई भुकम्प पीडितको घर बनाउँदा भुकम्प प्रतिरोधी बनाउन सुपरीवेक्षण गर्ने जिम्मेवारी छ । सरकारले भुकम्प पीडित अनुदान कार्यविधि संशोधन भएकाले संशोधित कार्यविधि अनुसार काम गर्न निर्देशन समेत दिएको उनले बताए ।
संशोधित कार्यविधिमा भुकम्प पीडितहरु आफैंले बनाएको घर भुकम्प प्रतिरोधी भए निरीक्षण गरेर मान्यता दिने उल्लेख छ । इन्जिनियरहरुलाई सम्झौता अघि बनेका घर निरीक्षण गर्न समेत निर्देशन दिएको जानकारी दिए । पहिला निरीक्षण गरेर पहिलो किस्ता दिंदा दोस्रो किस्ता भुक्तानीमा सहज हुने बताए । अहिले वर्षात्को समय भएकाले एक महिना काम समेत रोकिएको उनले बताए ।
दोलखामा अहिलेसम्म २१ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । भुकम्प पीडित जिल्लाहरु मध्ये सबैभन्दा पहिला (फागुन ३०) सिंगटीबाट भुकम्प पीडितसँग अनुदान सम्झौता र बैंक खाता खोल्ने काम सुरु भएको हो । दोलखामा ७० हजार घर भुकम्प पीडित भए तापनि ५० हजारभन्दा कमको मात्र नामावली प्रकाशन भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF