चरिकोटमा विविध कार्यक्रम गरी मनाइयो बुद्ध जयन्ती

 आवाज अनलाइन     ४ जेष्ठ २०७६, शनिबार

दोलखा, जेठ ४

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औँ जन्म जयन्ती दोलखा सदरमुकाम चरिकोटमा विविध कार्यक्रम गरी मनाइएको छ ।
चरिघ्याङ गुम्बा व्यवस्थापन समितिको आयोजना आज बिहान बाजागाजा सहित बजार परिक्रमा गरिएको छ । बुद्धको झण्डा र त्रिपिटक टाउकोमा बोकेर चरिकोट बजार परिक्रममा गरिएको हो । ¥यालीमा भीमेश्वर नगरपालिका ३ चरिघ्याङ र वडा नम्बर ६ चोथाङका तामाङ, शेर्पा लगायतका बौद्धमार्गी तथा अनुयायीहरुको सहभागिता थियोे । यसका साथै आजै बिहान चरिघ्याङ गुम्बामा धुप, बत्ती सहित लामा गुरुहरुले पुजापाठ पनि गरेका छन् ।
कार्यक्रमलाई जिल्ला लामा संघ, चरिघ्याङ युवा क्लब, चरिघ्याङ टोल विकास संस्था र सातदोबाटो – चरिघ्याङ टोल सुधार तथा सरसफाइ समितिले सहआयोजन गरेका थिए ।
भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित चरिघ्याङ गुम्बाबाट सुरु भएको ¥याली चरिकोट बजार परिक्रमा गरी चरिघ्याङ गुम्बामा आएर समापन भएको चरिघ्याङ गुम्बा व्यवस्थापन समिति सचिव लक्ष्मी लामाले जानकारी दिइन् ।
नेपालमा बाइसे, चौबिसे राज्य हुँदा स्थापना भएको मानिने चरिघ्याङ गुम्बा २०४५ सालमा नयाँ बनाइएको थियो । तर २०७२ सालको भूकम्पमा उक्त गुम्बा भत्किएपछि हाल पुरातात्विक ढंगले त्यसको पुनर्निमाण भैरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।