दोलखाका वरिष्ठ कलाकारहरु सम्मानित
आवाज अनलाइन ४ जेष्ठ २०७६, शनिबार
दोलखा, जेठ ४
संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दोलखाका ४ जना वरिष्ठ कलाकारहरु सम्मानित भएका छन् ।
दोलखामा जन्मिएर कलाको क्षेत्रमा योगदान दिने वरिष्ठ कलाकारहरु लोकगायक कुमार बस्नेत, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, लोकगायक हरिबहादुर राउत र वरिष्ठ कलाकार पुष्कर गुरुङलाई प्रेम–पूर्ण–प्रताप फाउण्डेशन, दोलखाले आज सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् विशाल खड्का र विशेष अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मानपत्रले उनीहरुलाई सम्मान गरेका हुन् ।
दोलखाको साविक भीमेश्वर नगरपालिका ९ साखिनेमा २००० सालमा जन्मिएका कुमार बस्नेतले २०१५ सालमै लोकगीत रेकर्ड गराएका हुन् । उनको पहिलो रेकर्ड गरिएको लोकगीत ‘चौतारी घ्याङ्ला नानी’ हो । उनी वरिष्ठ लोकगायक भएपनि उनले आधुनिक गीत पनि गाएका छन् । उनको पहिलो आधुनिक गीत ‘रिमझिम रिमझिम पानी पर्ला’ हो । नयाँ पुस्तालाई ‘प्रोमोट’ गर्न आफूले पनि आधुनिक गीत गाएको उनको धारणा छ । तर उनी आफूलाई लोक गायक नै भन्न रुचाउँछन् । लोक र आधुनिक दुवै क्षेत्रका थुप्रै गीत गाएका वरिष्ठ लोक गायक बस्नेतलाई कति गीत रेकर्ड गरियो भन्ने यकिन छैन । राम्रो नर्तकको रुपमा समेत चिनिएका उनका लै बरी लै, लप्सीको गेडा चुसेर, छोरी भन्दा आमा तरुनी, मादल घनघन, भुइँमा बस्दा बात लाग्ला जस्ता गीतहरु निकै लोकप्रिय छन् ।
दोलखाको दोलखा बजारमा जन्मिएका मदनदास श्रेष्ठ २०२१ सालदेखि रङ्गकर्ममा लागेका हुन् । उनको पहिलो एकाङ्की नाटक ‘धनबहादुरको मृत्युमा परिवारको आँसु’ हो । नाटकको नायकको रुपमा उनले आफ्नो रङ्गकर्म सुरु गरेका हुन् । उनले थुप्रै एकाङ्की र त्यत्तिकै पूर्णाङ्की नाटक पनि गरेका छन् । पञ्चायतकालमा ‘रामबहादुरको संसार’ नाटक खेले । यो नाटक प्रगतिशील भएकोले सरकारले प्रतिबन्ध नै लगायो । उनले गीती नाटक पनि खेलेका छन् । २०२४ सालताका उनको नाटक देखेपछि श्यामदास वैष्णवले उनलाई रेडियो नेपालमा लगे र उनी रेडियो नाटक गर्न थाले । त्यसपछि उनी रेडियो नेपालमा नाटक सहायक निर्देशक र निर्देशक भएर धेरै वर्ष काम गरे । त्यतिबेला रेडियो नेपालबाट धेरै धाराबाहिक धार्मिक नाटकहरु उनले निर्देशन र प्रसारण गरे । रङ्गकर्ममा ख्याति कमाएका श्रेष्ठले २०४३ सालतिर तत्कालीन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको ‘के घर के डेरा’ बाट उनले चलचित्रमा अभिनय सुरु गरेका हुन् । त्यसपछि थुप्रै चलचित्र तथा टेलिफिल्महरुमा उनले अभिनय गरेका छन् । दोलखामा निर्माण हुने भनिएको अन्तर्राष्ट्रियस्तरको फिल्मसिटीको मुख्य अभियन्ता समेत हुन् ।
साविक भीमेश्वर नगरपालिका १ दोलखामा जन्मिएका हरिबहादुर राउत लोकगायनको क्षेत्रमा चर्चित नाम हो । रेडियो नेपालमा स्वरपरीक्षा पास गरेपछि उनले रेकर्ड गराएको पहिलो गीत ‘माया त लाउने मन थियो, रापतीले छेक्दियो’ हो । उनले ५ सय भन्दा बढी लोक, आधुनिक गीतका साथै भजन र राष्ट्रिय गीतहरु समेत गाएका छन् । अहिले पनि उनी गायन क्षेत्रमा नै व्यस्त रहेका छन् । उनका ‘नरोऊ माया सम्झेर मलाई’, ‘मायाले बोलायो नेपाल बन्दमा’ लगायतका गीतहरु चर्चित छन् ।
दोलखा जिल्लाको साविक फस्कु गाविस ७ मा जन्मिएका पुष्कर गुरुङ चलचित्रको क्षेत्रमा चर्चित नाम हो । तर उनको कलाकारिताको सुरुवात भने रङ्गमञ्चबाट भएको हो । उनले २०३७ सालतिर ‘हामी वसन्त खोजिरहेछौँ’ भन्ने नाटकबाट आफ्नो कलाकारिताको सुरुवात गरेका हुन् । २०४२ सालतिरबाट टेलिफिल्ममा अभिनय गर्न थालेका उनले अभिनय गरेको कथानक चलचित्र ‘अनागरिक’ हो । अहिले उनी नाटक र चलचित्र दुबैलाई सकेसम्म उत्तिकै समय दिन्छन् । उनले थुप्रै नाटक लिएर विभिन्न देशमा प्रदर्शन गर्दै हिँडेका छन् । अहिले पनि उनी ‘कवड्डी कवड्डी कवड्डी’ र ‘राम राम’ चलचित्रमा व्यस्त छन् ।
फाउण्डेसनले सम्मान गरेपछि उनीहरुले आफ्नै भूमिमा सम्मानित हुँदा गौरवको अनुभूति भएको प्रतिक्रिया दिए ।
फाउण्डेसनले नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि १० हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रम फाउण्डेसनका अध्यक्ष शिवजी प्रधानको अध्यक्षतामा भएको थियो ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।