दोलखा सुनखानीमा आगलागी, ४ घर जलेर नष्ट, २ करोड क्षति

 आवाज अनलाइन     १२ जेष्ठ २०७६, आईतवार

दोलखा, जेठ १२

दोलखा जिल्ला कालिन्चोक गाउँपालिका ८ सुनखानीको सोती बजारमा करेन्ट सर्ट भई आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् भने करिब २ करोडको क्षति भएको छ ।
आज बिहान २ बजे सोतीस्थित केष्ण सेढाइको घरमा भाडामा बस्ने वासु खरेलको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा ४ घर पूर्ण रुपमा र एउटा घर आंशिक रुपमा जलेका छन् । विद्या बोर्डिङ स्कुलको भ्यानमा समेत सामान्य क्षति भएको जिल्ल प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
आगलागीबाट घनश्याम उप्रेतीको इलेक्ट्रोनिक पसलसहितको घर, चित्र खरेलको खरेल होटलसहितको घर, नारायण प्रसाद शिवाकोटीको कृष्ण होटेलसहितको घर, कृष्ण सेढाईको घरमा सञ्चालन गरेको वासु खरेलको होटल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी पदमराज शिवाकोटीको किराना पसल र होटल आंशिक क्षति भएको छ ।
मध्यराती भएको आगलागीबाट मानवीय क्षति नभए पनि खसी, बाख्रा, कुखुरा, अन्नपात, लत्ताकपडा आदि जलेर नष्ट हुँदा १ करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको दोलखा प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले भीमेश्वर नगरपालिकाको दमकल समेतको सहयोगमा बिहान ७ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।