पहिरोका कारण ३ जना घाइते, हलहलेको अवरुद्ध सडक खुल्यो

 शम्भु गौतम     २७ असार २०७६, शुक्रबार

दोलखा

हिजो साँझदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोबाट दोलखामा ३ जना घाइते भएका छन् ।
भीमेश्वर नगरपालिकाको कालिन्चोक मावि नजिकै आज विहान करिब ९ः३० बजे गएको पहिरोमा परी बाटो हिँडिरहेकी स्थानीय नागीधारा बस्ने ४६ वर्षीया जलमाया थामी घाइते भएकी छन् । घाइते जलमायाको उद्धारपछि उनलाई उपचारको लागि लैजाँदै गर्दा भएको टिपर दुर्घटनामा अन्य दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए । बा ४ ख २१२५ नं को टिपर दुर्घटनामा घाइते हुनेमा टिपरमा सवार घाइते जनमायाका छोरा २० वर्षका मंजित थामी र भतिज ३६ वर्षका गंगालाल थामी रहेका छन् । घाइते तीनै जनाको उपचार प्राथमिक स्वास्थ्य केन्द्रमा भैरहेको छ र अवस्था सामान्य छ ।
नेपाल प्रहरी, नेपाली सेनाको तारा दल गण र सशस्त्र प्रहरी बलको प्रयासमा उनीहरुको उद्धारका साथै अवरुद्ध बाटो पनि खुलाइएको छ ।
त्यसैगरी अविरल वर्षाका कारण भीमेश्वर नगरपालिका ९ हलहलेमा पनि पहिरो खसेर आज विहानैदेखि बाटो अवरुद्ध भएको थियो । बाटो अवरुद्ध हुँदा यात्रुहरु बिच बाटोमा अलपत्र परेका थिए । नेपाल प्रहरी र डिभिजन सडकको स्काभेटरको सहयोगमा आज मध्यान्हदेखि यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।