दोलखाका पत्रकारलाई स्वास्थ्य सचेतना

 शम्भु गौतम     २६ असार २०७६, बिहीबार

दोलखा

उमेर बढ्दै जाँँदा स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने विषयमा दोलखाका पत्रकारहरुलाई प्रशिक्षण दिइएको छ ।
स्वास्थ्य कार्यालय दोलखा र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयुक्त आयोजनामा दोलखामा कार्यरत पत्रकारहरुलाई सर्ने र नसर्ने रोगहरु त्यसको रोकथाम तथा बालस्वास्थ्य वातावरणको विषयमा स्वास्थ्य सञ्चार सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रका डा. विनोद दंगालले पत्रकारहरुलाई उमेरअनुसार, तौलअनुसार स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए । उनले उमेरले ४० वर्ष कटेपछि खानपानमा र व्यायाममा ध्यान दिन पत्रकारहरुलाई आग्रह गरे । उनले यो क्रममा संसारमा सर्ने रोग भन्दा नसर्ने रोगका कारण मानिसहरुको मृत्यु सबैभन्दा धेरै हुने गरेको तथ्य पनि सार्वजनिक गरे । त्यसकारण पनि खानपान र व्यायाममा ध्यान दिनुपर्ने उनको धारणा थियो ।
विभिन्न समयमा विश्व स्वास्थ संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार हृदय घात, प्यारालाइसिस, दम, निमोनिया, विर्षने रोग, क्यान्सर , मदुमेह, दुर्घटना, झाडापखाला र क्षयरोगबाट मानिसहरू मर्ने गरेका छन् ।
यस्ता कुराहरूलाई मध्ये नजर गर्दा मान्छेको उचाइ अनुसारको तौल नभइ अस्वभाविक रुपमा बढ्दा बढीभन्दा बढीलाई रोगले आक्रमण गर्ने गरेको डाक्टर दंगालले बताए ।
उनले दैनिक ४५ देखि ५० मिनेटसम्म पसिना आउने गरी व्यायाम गर्नेहरु निरोगी हुने बताए । कार्यक्रममा विभिन्न मिडियामा आबद्ध ५० भन्दा बढी पत्रकारहरूको सहभागिता थियो । सहभागी पत्रकारहरुले आआफ्ना स्वास्थ्य समस्याका बारेमा जिज्ञासा समेत राखेका थिए ।
पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले समाजका हरेका घट्ना, क्रियाकलाप, परिवर्तन र विकास निर्माणसंग सरोकार राख्ने पत्रकारहरूले अव स्वास्थ्य क्षेत्रमा समेत कलम चलाउनुपर्नेमा जोड दिए ।
हरेक मानिसको स्वस्थ शरीर भन्दा ठूलो अरु केही नभएको उल्लेख गर्दै लामाले जनताको स्वस्थ्यका लागि पत्रकारहरुलाई थप जिम्मेवार बनाउन कार्यक्रम राखेको बताए । उनले अबका दिनमा स्वास्थ्य सम्बन्धी सबै कुराहरू सञ्चार गर्नका लागि पत्रकारहरू अग्रसर बन्नुपर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।