खिम्ती १ बाट कर्मचारीले १६ करोड पाए, तर राज्यले कर पाएन

 आवाज संवाददाता     ५ श्रावण २०७३, बुधबार

दिलबहादुर केसी
दोलखा, ५ साउन

खिम्ती–१ जलविद्युत् केन्द्रमा कार्यरत ८६ जना कर्मचारी आकर्षक उपदानसहित बिदा भएको साढे ४ वर्ष बिते पनि राज्यले हितकर वापत पाउनुपर्ने रकम पाउन सकेको छैन । कर्मचारी बिदा गर्दा राज्यलाई बुझाउनुपर्ने शुल्कबापत २५ प्रतिशत रकम त्यही बेला कट्टा गरेर बिदाइ गरे पनि उक्त रकम सरकारी खातामा जम्मा हुन नसकेको हो ।

कर्मचारीको सेवा अवधि, उमेर हद र तलबमानका आधारमा हिसाब गर्दा १६ करोड रुपैयाँ भएको थियो । बिरामी बिदा, घर बिदा, औषधोपचारलगायतका खर्चबापत गरी २२ करोड २६ लाख ५९ हजार १ सय ४८ रुपैयाँ हिमालपावर भुक्तानी गर्न तयार भएको थियो । कर्मचारी बिदाइ गर्दा मजदुर संगठन र खिम्ती सर्भिसेजले राज्यलाई तिर्नुपर्ने कर भन्दै त्यही बेला कर्मचारीलाई १६ करोड ६९ लाख ९४ हजार ३६१ मात्र भुक्तानी गरेका थिए ।

आफूले तिरेको कर राज्यको खातामा पुगे/नपुगेको बारेमा बिदा भएका कर्मचारी आन्तरिक राजस्व कार्यालय ललितपुरसम्म पुगे । कर दाखिला नभएपछि कर्मचारीको टीडीएस कर १५ दिनभित्र दाखिला गर्न आन्तरिक राजस्व कार्यालय ललितपुरले ०७० वैशाख २ गते खिम्ती सर्भिसेज प्रालिलाई पत्र नै लेखेको थियो ।

आन्तरिक राजस्व कार्यालयको पत्रमा आकर्षक प्याकेज, उपदान र बिदाबापतको भुक्तानी रकममा १५ प्रतिशत कर लाग्ने उल्लेख छ । राज्यलाई तिर्नुपर्ने कर ४ करोड १८ लाख ८१ हजार ६ सय १४ हुने र त्यसको २०६९ चैतसम्मको ब्याजसहित ४ करोड ८१ लाख ६३ हजार ९ सय ४९ रुपैयाँ दाखिला गर्न आन्तरिक राजस्वले पत्र पठाएको थियो । तर, उक्त रकम हालसम्म दाखिला नभएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

बिदा भएका कर्मचारीले राज्यलाई तिर्नुपर्ने कर चाँडै तिर्न र आफूहरूसँग कटाएको थप १० प्रतिशत भुक्तानी पाउन माग गरेका छन् । राज्यलाई तिर्नुपर्छ भनेर कर्मचारी संगठन र कम्पनीले २५ प्रतिशत अर्थात् ५ करोड ५६ लाख ६४ हजार ७८७ रुपैयाँ कटाएका थिए । कम्पनीका नाइके र संगठनका केही नेताले आफ्नो श्रममाथि रजाइँ गरेको अवकाश प्राप्त एक कर्मचारीले गुनासो गरे । “संगठनका लागि मागेको शुल्क पनि बुझाएकै थियौं, आन्दोलन गर्नुपर्छ भने सहभागी भयौं,” अर्का कर्मचारीले भने, “सबै राज्य कोषमा जाने भए ठीकै छ अन्यथा हाम्रो बढी १ करोड ३७ लाख ८३ हजार ९२ रुपैयाँ ब्याजसहित पाउनुप¥यो ।”

खिम्ती सर्भिसेजका तत्कालीन अध्यक्ष रमेशकुमार श्रेष्ठले भने राज्यलाई करै नतिरेको भन्ने नभएको बताए । राज्यलाई तिर्नुपर्ने दायित्वबापतको रकम तिर्दै गएको र सबै रकम हिमाल पावर लिमिटेडसँग पनि लिन बाँकी रहेको बताए ।

हिमाल पावर लिमिटेड खिम्ती १ को प्रबद्र्धक हो । हिमाल पावरमा काम गर्ने ज्यालादारी तथा करारका कर्मचारी खिम्ती सर्भिसेज नामक आन्तरिक कम्पनीमार्फत सम्झौता गरेको थियो । कम्पनीमा कार्यरत एक जनालाई हिमाल पावरले अध्यक्ष बनाएको थियो । हिमाल पावरबाट २०६८ चैत ८ गते औपचारिक विदाई गरेको हो ।
नर्वेको लगानीमा १५ वर्षअघि बनेको ६० मेगावाटको खिम्ती जलविद्युत केन्द्रबाट बिदा हुनेलाई नर्वेका तत्कालिन राजदुत अल्फले प्रमाण पत्र हस्तान्तरण गरेका थिए । हिमाल पावरमा आवश्यक नभएका कर्मचारी कटौतीगर्न थालेपछि एमाले निकट नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनको आयोजना७२ दिनसम्म २४ घण्टे रिले अनसन समेत कर्मचारीहरु बसेका थिए ।
श्रम विभागका तत्कालिन महानिर्देशकको समन्वयमा वार्ता गरी आकर्षक रकम दिन हिमाल पावर सहमति भएपछि कर्मचारी बिदा भएका थिए । सम्झौताअनुसार बिदा हुनेलाई पूरै रकम र काममा निरन्तरता दिनेलाई ५० प्रतिशत प्याकेज दिने सहमति भएको थियो । विदा हुने बेला साँढे ८ लाख देखि ३६ लाखसम्म कर्मचारीहरुले पाएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF