विगू गाउँपालिकालाई तामाकोशीको आधुनिक एम्बुलेन्स

 शम्भु गौतम     ५ श्रावण २०७६, आईतवार

दोलखा

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको तामाकोसी जलविद्युत आयोजनाले विगु गाउँपालिकालाई करिब ४ करोड मुल्यको एम्बुलेन्स सहयोग गरेको छ ।
विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा निर्माणाधीन आयोजनाले आयोजना प्रभावित क्षेत्रका जनताको सुविधाको लागि बा २ झ ४५३८ नम्बरको सुविधायुक्त एम्बुलेन्स सहयोग गरेको हो ।
आइतबार आयोजनाको मुख्य कार्यालय गोंगरमा एक कार्यक्रम गरी नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्कालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको आयोजनाका प्रबक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले दोलखाका उत्तरी क्षेत्र कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिका जनताले सहज ढङ्गले अस्पतालसम्म पुगरे उपचार गर्न पाउन भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको बताए । एम्बुलेन्समा प्राथमिक उपचारका सामाग्री, एक विरामी शैय्या, नर्स र विरामी कुरुवाका लागि एकएक सिट रहेको छ ।
एम्बुलेन्स एक प्रतिशत भन्सारमा ल्याइएको हो । ल्याण्ड क्रुजर भिएट नामको यो गाडीको भन्सार सहित नेपाली बजार मुल्य ४ करोड ८ लाख पर्ने प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिए ।
त्यसैगरी विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले एम्बुलेन्स विगु गाउँपालिकाको जनताले मात्रै नभएर सबै दोलखालीले दुःख बिमार पर्दा उपयोग गर्न पाउने बताए ।
यसअघि प्रतिनिधि सभा सांसद जिपछिरिङ शेर्पाले प्रदान गरेको एम्बुलेन्सले सो क्षेत्रका विरामीहरुलाई सेवा दिँदै आएको थियो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डे, आयोजना प्रमुख विज्ञान प्रसाद श्रेष्ठ, उपप्रवन्धक विमल गुरुङ लगायतको उपस्थिति थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।