आजदेखि चरिकोट – खाडीचौर सडक आंशिक बन्द

 आवाज अनलाइन     ११ श्रावण २०७६, शनिबार

दोलखा

खाडीचौर–चरिकोट सडक सुधार गर्न भन्दै डिभिजन सडक कार्यालय दोलखाले ३ दिन सवारी आवागमन आंशिक बन्द गर्ने निर्णय गरेको छ ।
खाडीचौर–चरिकोट सडकको मुख्यगरी १२ किलोदेखि १८ किलोमिटरसम्म अत्यन्त दुरावस्थाको सडक सुधार गर्न आज शनिवारदेखि हरेक बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गर्न लागेका हो । डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले सिन्धुपाल्चोकको पाखर क्षेत्रमा सडक निकै बिग्रिएर सवारी आवागमनमा कठिनाइ आएपछि ३ दिनसम्म रातिरातिको समयमा सवारी आवागमन बन्द गरिएको बताए ।
आज बेलुकादेखि ३ दिनसम्म रातिराति १२ घण्टा सवारी बन्द गरी सडक स्तरोन्नतिको ठेक्का पाएको गौरी पार्वती जेभीले नै सडक सुधार गर्ने पनि सक डिभिजन प्रमुख झाले जानकारी दिए । त्यसका लागि ठेकेदार कम्पनी गौरी पार्वती उपकरणहरु तैनाथ गरिसकेको उनले बताए । यसका साथै डिभिजन सडक कार्यालयले समेत आवश्यक उपकरणहरु तयार राखेको उनले जानकारी दिए । ३ रातमा ग्राभेल राखेर सवारी आवागमन सहज बनाइने पनि उनले बताए ।
खाडीचौर– चरिकोट सडकको पाखरखण्डको करिब ९ किलोमिटर क्षेत्रमा सडक हिलाम्मे हुँदा यात्रुहरुले निकै सास्ती भोग्दै आएका छन् । करिब ४ घण्टामा आवातजावत गरिने चरिकोट – काठमाडौँको यात्रालाई १२ देखि १५ घण्टासम्म कठिन यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् । दोलखा र सिन्धुपाल्चोकवासीहरु इमर्जेन्सी विरामी पर्दा या त हेलिकप्टर चार्टर गर्न या अकाल मृत्युवरण गर्न बाध्य भएका छन् ।

कभर तस्विरः गणेशविक्रम शाहीको फेसबुक वालबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।