ज्येष्ठजनलाई मिलीजुलीको सहारा

 शम्भु गौतम     ७ भाद्र २०७६, शनिबार

दोलखा

दोलखास्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले बृद्धावस्थाका नागरिकलाई सहाराका लागि लौरो र टर्च लाइट वितरण गरेको छ ।
आफ्नो २७ औँ स्थापना तथा कारोबार सञ्चालन दिवसको अवसरमा मिलीजुलीले ७० वर्ष कटेका आफ्ना बृद्धावस्थाका सदस्यहरुको आवश्यक्तालाई ध्यानमा राखी जनही एक/एक थान लौरो र टर्च लाइट वितरण गरेको हो ।
बृद्धावस्थाका नागरिकको साहारा भन्नु नै दिउँसो लौरो र राती टर्चलाइट समेत रहेकोले सहयोग स्वरुप लौरो र टर्च लाइट वितरण गरिएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले जानकारी दिए । उनले संस्थामा अवद्ध करिब पाँच सय बृद्धावस्थाका सदस्यहरुलाई लौरो र टर्च वितरण गरिएको बताए । संस्थाले सदरमुकाम चरिकोट र उसको अन्य ७ वटा सेवा केन्द्रबाट ती ज्येष्ठजनलाई सहारा वितरण गरेको हो ।
त्यसैगरी संस्थाले आफ्नो कार्यक्षेत्रको प्रत्येक वडामा विरामी बोक्नका लागि स्टे«चर समेत वितरण गरेको छ । कार्यक्षेत्रका प्रत्येक वडामा दुई–दुई थान गरी जम्मा ६० थान स्टे«चर वितरण गरिएको संस्थाले जनाएको छ ।
त्यसैगरी संस्थाले ७० वर्ष कटेका र संस्थामा १० वर्षसम्म बचत गर्ने बृद्धावस्थाका ६३ जना सदस्यहरुलाई महिनाको दुई सयका दरले वार्षिक २४ सय प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए ।
सहकारीको एटीएम सेवा पनि
मिलीजुली साकोसले आफ्नो स्थापनाको २७ औँ वर्ष प्रवेशको अवसर पारेर आफ्ना सदस्यहरुको सहजताका लागि एटीएम सेवा उपलब्ध गराउने भएको छ ।
आज संस्थाको २७ औँ स्थापना तथा कारोबार सञ्चालन दिवस कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले एटीएमको उद्घाटन गरेका छन् । अहिलेलाई उक्त साकोसले एटीएमको एससीटी सेवा र यूनियन–पे सेवा उपलव्ध गराउने जनाएको छ ।
२०५० साल भदौ ७ गते स्थापना भएको संस्थामा २० हजार एक सय ५२ जना सदस्यहरु आबद्ध छन् । असार मसान्तसम्म ९८ करोड ८२ लाख ९१ हजार ९ सय १६ रुपियाँ कुल पूँजी रहेको सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ५० लाख ३९ हजार १३२ रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले जनाएको छ ।
संस्थाले कृषि, व्यापार, लघु उद्यम, औद्योगिक, वैदेशिक रोजगार, घरजग्गा लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।