माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले गति लियो

 आवाज संवाददाता     ६ असार २०७३, सोमबार
तामाकोसी वारी सुरुङ, पारी केबुलकार

दोलखा, २ असार – भूकम्पका कारण निर्धारित कार्यतालिका अनुसार निर्माणको प्रगति हुन नसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कामले पुनः गति लिन थालेको छ । आयोजनाको कामलाई गतिशील बनाई चाँडो काम पूरा गर्न प्रवेशमार्ग निर्माणलाई तीव्रता दिइएको छ ।
भूकम्पले क्षतिग्रस्त प्रवेश मार्गको काब्रेभीरमा सुरुङमार्ग निर्माण सुरु गरिएको छ । विद्युत्गृह गोंगरदेखि बाँधस्थल लामाबगर गाउँसम्मको ११ किलोमिटर सडक खण्डमा पर्ने काब्रेभीरमा करिब ३ सय ६० मिटर लामो सुरुङमार्गको निर्माण थालिएको हो । अर्को करिब ३ किलोमिटर सडक खोल्ने काम सम्पन्न गरेपछि आयोजनाको जलाशय क्षेत्र हेडवर्कसम्म मोटर चालू हुनेछ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले सुरुङ निर्माणका लागि दुवैतिरबाट तयारी भइरहेको बताए । “सिनोले काम तयारी पूरा गरेको छ,” उनले भने “छिटो काम गर्न बुमर उपकरण ल्याउँदै छ, सम्भवतः एक साताभित्र काम सुरु हुन्छ ।” आयोजनाको १६ किलोमिटरभन्दा बढी सुरुङ सामान्य जनशक्तिकै बलमा निर्माण भएको हो ।
अहिलेसम्म काब्रेभीरसम्मको सडक मर्मत गर्न र सिंगटीदेखि क्षतिग्रस्त ३३ केभी प्रसारण मर्मत गर्न समय लागेको उनले बताए । डिजेल बोक्ने बाटोसमेत नभएकाले विद्युत् पावरका कारण बाँध र हेड रेस सुरुङमा जमेको पानी निकाल्नसमेत सकिएको छैन ।
सुरुङमार्ग बनेपछि लामाबगरसम्म ३३ केभी विद्युत् लाइन सुचारु हुनेछ । त्यसपछि मात्र सुरुङमा जमेको पानी फाल्ने र हेडवक्सको काम सुचारु गर्ने आयोजनाको योजना छ । हेड रेस सुरुङको ३ किलोमिटरसम्म पानी जमेको छ ।
भूकम्पले ठूलो क्षति पु¥याएको काब्रेभीरको बाहिरी सडक टिकाउ नहुने निष्कर्षपछि भूमिगत मार्ग बनाउन थालिएको आयोजनाले जनाएको छ । “बाहिरीसतह कमजोर भएकाले परिपक्व र सधैं चालू हुने गरी सुरुङमार्ग निर्माण थाल्यौं,” आयोजनाका प्रमुख कार्यकारी अधिकृत प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भने । ०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पले आयोजना प्रवेशमार्गको सिंगटीदेखि लामावगरसम्म ठाउँ–ठाँउका चेनेजहरू ध्वस्त पारेको थियो ।
भूकम्पले केही भासिएको भनिएको निर्माणाधीन जलाशय क्षेत्रसम्म पुग्नका लागि सडक अबरुद्ध भएको १ वर्षपछि भूमिगत बाटो अर्थात् सुरुङमार्ग बनाउन थालिएको हो । भूकम्पपछि बाटो सुधार नहुँदा लामावगर र तिब्बती सिमाक्षेत्रका बासिन्दालाई हिँडडुलमा समेत बाधा परेको छ । खोलादेखि १ किलोमिटर ठाडो भीरबाट छिचोलिएको सडक सामान्य कम्पन र वर्षात्को पानीले समेत भत्कने आयोजनाले औंल्याएको छ ।
सुरुङमार्गको अनुमानित खर्च साढे ११ करोड हुने अनुमान छ । पटक–पटक सडक अबरुद्ध हुँदा काममा ढिलासुस्तीको क्षतिपूर्ति र मर्मतमा लाग्ने खर्चको हिसाब गर्दा भूमिगत मार्ग नै उपयुक्त विकल्प निकालिएको हो ।

रोल्वालिङ डाइभर्सनका लागि रोपवे
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा रोल्वालिङ खोलाको पानी मिसाइ थप विद्युत् उत्पादन गर्ने कार्य अगाडि बढाउन रोपवे बनाइने भएको छ ।
निर्माण कार्य सकिएपछि रोपवेलाई केबल कारको रुपमा विस्तार गर्ने सोच आयोजनाको छ । अत्यन्त कठिन र जटिल भौगोलिक अवस्था भएकाले छेतछेतदेखि सिमिगाउँको तल्लो क्षेत्र हुँदै गौरीशंकर गाविसको रिखु गाउँसम्म रोपवे बनाउने परिकल्पना गरिएको हो । त्यसको लम्बाइ करिब साढे २ किलोमिटर हुने आयोजना प्रवक्ता न्यौपानेको भनाइ छ । माथिल्लो तामाकोसीको जलाशयमा ६ किलोमिटर नयाँ सुरुङबाट सुक्खा मौसममा रोल्वालिङ खोलाको पानी मिसाइ वार्षिक १७ करोड युनिट थप विद्युत् उत्पादन गर्ने बताइएको छ ।
रोल्वालिङ डाइभर्सनअन्तर्गत रोल्वालिङ खोलामा सानो इन्टेक र इन्टेकदेखि माथिल्लो तामाकोसीको जलाशयसम्म करिब ६ किलोमिटर सुरुङ निर्माण हुने गरी जर्मनीको परामर्शदाता लाह्मेर इन्टरनेसनलले डिजाइन गरिरहेको र डिजाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
रोपवेसहित रोल्वालिङ डाइभर्सनको निर्माण कार्य भने माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएपछि मात्र निर्माण सुरु गर्ने तयारी छ । रोपवेलाई केबलकारमा परिणत हुँदा रोल्वालिङ क्षेत्रमा जाने पर्यटकसमेत लाभान्वित हुनेछन् ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई जिल्लाको उत्तरी क्षेत्रको कायापलट गर्ने आयोजनाको रूपमा लिइन्छ । आयोजनाले दोलखा बजारदेखि लामाबगरसम्मको ६८ किलोमिटर कठिन भीरपाखा छिचोल्दै सडक निर्माणपछि उत्तरी क्षेत्रमा एक दर्जनभन्दा बढी अन्य जलविद्युत् आयोजना निर्माण हुँदै छन् ।
आयोजनाको हालसम्म झन्डै ८० प्रतिशत काम पूरा भएको छ । आयोजनामा विद्युत्गृहको काम र प्रसारण लाइनको काम भइरहेको छ । लट २ र ३ को उपकरण र पेनस्टक पाइपको ढुवानीको कामसमेत जारी छ । आयोजनालाई ०७४ को अन्त्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।