प्रदेश ३ को पहिलो बालमैत्री नगर भीमेश्वर (फोटो फिचरसहित)

 शम्भु गौतम     २९ भाद्र २०७६, आईतवार

दोलखा

बाल दिवसको अवसर पारेर दोलखा जिल्लाको भीमेश्वर नगरपालिकालाई प्रदेश ३ को पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । भीमेश्वर नगरपालिकाले विभिन्न ३९ वटा सूचकहरु पूरा गरेकोले बालमैत्री नगरपालिका घोषणा गरिएको हो ।
‘ऐतिहासिक धार्मिक र सांस्कृतिक धरोहर, सुनिश्चित बाल अधिकार समृद्ध भीमेश्वर’ भन्ने मूल नारा सहित दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगर घोषणा गरिएको हो । कालिन्चोक मावि चरिकोटको प्राङ्गणमा आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक २७ वटा सेवामूलक र १२ वटा संस्थागत गरी ३९ वटा सूचकहरु पूरा गरेकाले भीमेश्वर नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको बताइएको छ ।
नगरपालिकालाई राष्ट्रिय बलदिवसको अवसरमा आज प्रदेश नम्बर–३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गरेका हुन् । उनले हरेक स्थानीय तहले बालबालिकाहरुको मौलिक हक अधिकार सुनिश्चित गर्नुपर्ने भनेर संविधानमै लेखिएको हुनाले सबैले त्यसको पालन गर्नुपर्ने बताए । हरेक घर, विद्यालय र सार्वजनिक स्थल लगायतका ठाउँहरु बालमैत्री हुनुपर्ने उल्लेख गर्दै मन्त्री दुलालले २०८० सालसम्म ३ नम्बर प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने गरी कार्य अघि बढाएको बताए । नगरपालिकाले सेवा प्रवाह सम्बन्धी बाल बचाउका १०, बाल संरक्षणका ५, बाल विकासका ६ र बाल सहभागिताका ६ गरी २७ ओटा सूचक र संस्थागत विकास सम्बन्धी १२ ओटा सूचक पूरा गरेका छन् । साथै त्यस सम्बन्धी १६ ओटा चरणहरु पूरा गरेको भीमेश्वर नगरपालिका मेयर भरत बहादुर केसीले जानकारी दिए । सबै स्थानीय तहलाई बालमैत्री स्थानीय तह बनाउने सरकारको लक्ष्य अनुसार बालमैत्री स्थानीय तह घोषणा कार्यविधि २०७० वमोजिमका प्रकृयाहरु पूरा गरेको उल्लेख गर्दै उनले स्थानीय तहलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने नीति अनुसार भीमेश्वर नगरपालिकाले २०७१ साल देखि नै प्रयासहरु थालनी गरेको बताए ।
‘स्थानीय तहमा जनप्रतिनिधीहरुको बहाली पश्चात बालमैत्री स्थानीय शासन पद्धतिले गति लिएको र सबै सूचक र चरण पूरा गरी नगरलाई बालमैत्री घोषणा गरेका हौँ ।’ उनले भने । नगरपालिकाले बालमैत्री स्थानीय शासन अवधारण सम्बन्धमा सम्पूर्ण सरोकारवालाहरुलाई अभिमुखिकरण, बालमैत्री स्थानीय शासन नगर समिति, वडा समिति, बाल अधिकार संरक्षण र संवद्र्धन समिति, नगर बाल सञ्जाल, बाल क्लबको गठन तथा परिचालन गरेका थिए ।
भीमेश्वर नगरपालिकाले नगरभरिका सम्पूर्ण विद्यालयहरुमा एकैप्रकारका पोशाकको व्यवस्था गरेको छ । प्राथमिक तहका बालबालिकाहरुलाई निशुल्क पोशाक तथा खाजाको व्यवस्था गरेको छ । त्यसैगरी बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्ने कार्यका साथै निर्णय प्रक्रियामा बालकालिकाको सहभागिता सुनिश्चित गरिएको छ । बालबालिकाहरुका लागि मेयरकप, उपमेयरकप फुटबल, भलिबल तथा क्रिकेट, राष्ट्रपति रनिङशिल्ड लगायतका खेलकुद प्रतियोगिताहरु आयोजना गरेको छ । त्यसैगरी नगरपालिकाले ‘एक वडा, एक उद्यान’ कार्यक्रम अगाडि सारेको छ ।
बालमैत्री आचर संहिता लागू गराइ बाल कल्याण कोषको समेत स्थापना गरेका छन् । बालमैत्री नगर घोषित भीमेश्वर नगरपालिका ३ नम्बर प्रदेशको पहिलो र नेपालको चौथो नगरपालिका भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए ।

sdr

sdr

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।