एनसेलको करछली विरुद्धमा राप्रपाले आन्दोलन गर्ने

 राजन शिवाकोटी     ३१ भाद्र २०७६, मंगलवार
३१ भाद्र, २०७६
काठमाडौंरएनसेलको करछली विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गर्ने राप्रपाका अध्यक्ष कमल थापाले बताएका छन् ।
राप्रपाको न्यायिक समितिद्वारा काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एनसेल प्रकरणले आर्थिक रूपमा देशलाई ठुलो घाटा पुर्याएको बताउँदै त्यसका विरुद्धमा राप्रपाले सडक र सदनमा आन्दोलन गर्ने बताएका छन् ।
देशमा ठुला ठुला भ्रष्टाचारको काण्ड सार्वजनिक भइरहेको तर सुशासन गर्ने निकाय र न्याय दिने निकायको इमानदारीता, निष्पक्षता र इच्छाशक्तिमा कमी भएको बताएका छन् । एनसेल करछली प्रकरण इतिहासकै सर्वाधिक ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै अध्यक्ष थापाले राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गइरहेकोमा चिन्ता प्रकट गरेका छन् ।
थापाले सुकदेव खत्री महालेखा परिक्षक रहदा आफ्नो प्रतिवेदनमा एनसेल कर छलीको विषय उजागर गर्नुले नै आज देशको एनसेलको विषय जल्दोबल्दो मुद्दा बनेको बताएका छन् । थापाले एनसेलको विषयले हाम्रो संरचनामा धमिरा लागेको बताएका प्रमाणीत गरेको बताए । उनले एनसेल भ्रष्टाचार काण्डको निराकरण गर्न सके देशमा लागेको धमिरा समेत अन्त्य हुने बताएका छन् ।
त्यस्तै राप्रपाले एनसेल भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, संघर्ष र आन्दोलनको रूपमा समेत लैजाने बताएका छन् । थापाले एनसेल प्रकरण राष्ट्रिय हित विपरित र संविधानको भावना विपरीत भएको बताएका छन् ।
थापाले एनसेल कर छली विरुद्धका अभियान्तहरुले एनसेल विषयमा सशक्त रूपमा पुर्नजागारण गरेबाट देश र जनताप्रतिको दायित्व पूरा गरेको बताएका छन् ।
एनसेल कर छली प्रकरण विरुद्धका अभियन्ता डा. सुरेन्द्र भण्डारीले एनसेल कर छली प्रकरणमा भएको सर्वोच्च अदालतको फैसला राष्ट्रघात, असंवैधानिक र गरिबमारा फैसला भएको बताएका छन् । उनले प्रचलित कानुन बमोजिम एनसेल बिक्री हुँदाको लाभकर नतिरेकोमा देशलाई ठुलो घाटा लागेको दाबी गरेका छन् । डा। भण्डारीले एनसेलले कर छलीबाट जरिवाना समेत गरि हालसम्म ४ सय अर्ब तिर्नुपर्ने बक्यौता रकम पुगेको बताएका छन् ।
भ्रष्ट्राचार विरुद्धका अभियन्ता तथा पुर्व सचिव द्वरिकानाथ ढुङ्गेलले १२ औं पटक बिक्री गर्दा १ खर्ब ४४ अर्बमा बिक्री भएकोमा राज्यलाई तिर्नुपर्ने कर नतिर्ने र राज्यले चासो नदिनुले राजनीतिक दल, मुख्य नेता, कर्मचारी प्रशासन र न्यायालयको नियत प्रष्ट भएको बताएका छन् । उनले अदालत समेतले एनसेलको विषयमा त्रुटिपूर्ण फैसला गरि न्याय मारेको आरोप समेत लगाएका छन् ।
पुर्व महालेखा परिक्षकका सुकदेव खत्रीले एनसेल बिक्री प्रकरणमा नर्बेको टेलेसोनेरा कम्पनीले एनसेल बिक्री गरेको भएता पनि उक्त कम्पनी बन्द भएको हुँदा एनसेल त्यसको जिम्मेवारी लिदै कर तिर्नु पर्ने बताएका छन् । खत्रीले एनसेल बिक्री गर्नु पूर्व कर तिर्ने सम्बन्धमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीलाई जानकारी गराएकोमा प्रधानमन्त्री सितको वार्तापछि एनसेल कर तिर्नु पर्ने भनी बाहिर आफ्नो धारणा प्रस्तुत गरेको बताएका छन् । यस विषयलाई जनताको आँखाबाट हेरिएको र जनताले नै निर्णय गर्ने बताएका छन् ।
कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङ्देन लगायतको नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।