दोलखामा राष्ट्रिय सेवा दलको तालिम सुरु

 आवाज संवाददाता     ९ श्रावण २०७३, आईतवार

दोलखा, ९ साउन/दोलखा सदरमुकाम चरिकोटमा नेपाली सेनाको राष्ट्रिय सेवा दलको तालिम आजबाट सुरु भएको छ । तालिममा कालिन्चोक उच्च माविका १८ छात्रा र १८ छात्र गरी ३६ जनाको सहभागिता छ ।
रणभीम गणको आयोजनामा दोलखा सदरमुकाम चरिकोट स्थित कालिन्चोक उच्च माविमा राष्ट्रिय सेवा दलको तालिम कार्यक्रमका प्रमुख अतिथि दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले तालिमले विद्यार्थीहरुलाई ज्ञान, सीप र अनुशासन सिकाउने बताए । उनले विद्यार्थीहरुलाई तालिम जोखिमयुक्त पनि हुने भएकोले सजग भएर लिन आग्रह गरे ।
तालिममा प्रथम प्रवचन दिँदै रणभीम गणका गणपति प्रमुख सेनानी मधुसुदन नरसिंह राणाले तालिमको ऐतिहासिक अवस्था, उद्देश्य, फाइदाहरुबारे जानकारी दिए । उनले तालिमका सहभागी विद्यार्थीहरुले पाउने सुविधा, उनीहरुबाट सेवा दलले गरेको अपेक्षा, विद्यालयबाट सेवा दलले गरेको सकारात्मक अपेक्षा सुनाए ।
कालिन्चोक उच्च माविका प्रधानाध्यापक नवराज न्यौपानेले राष्ट्रिय सेवा दलको तालिमका लागि कालिन्चोक उच्च माविलाई छनोट गरेकोमा रणभीम गणलाई धन्यवाद दिए । उनले तालिमलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता सुनाए ।

IMG_20160724_132819

‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने मूल नाराका साथ राष्ट्रिय सेवा दलले २०२२ सालदेखि यस्तो तालिम कार्यक्रम सुरु गरेको हो । राष्ट्रिय सेवा दल २०२७ मा आधारित रही आलसम्म २२ हजार ९ सय ३८ छात्रछात्राले तालिम प्राप्त गरिसकेका छन् । आ.व. २०७३÷०७४ मा देशभर ६६ जिल्लाका ८९ विद्यालयहरुबाट करिब ४ हजार क्याडेटहरु विद्यार्थी तालिम लिइरहेका छन् ।
विद्यार्थीहरुलाई जम्मा १ सय दिनको तालिम दिइन्छ भने उनीहरुले ७९ दिन संस्थागत तालिम पाउँछन् । स्थान विशेषमा वा आफ्नै विद्यालय तथा जिल्ला दिइने तालिममा उनीहरुले शारीरिक तालिम, ड्रिल, सैनिक कला, टेकिङ तथा हाइकिङ, एरोविक्स आदिको तालिम दिइन्छ । त्यसैगरी वार्षिक सामुहिक क्याम्पमा गेष्ट लेक्चर, विपद् व्यवस्थापन तथा उद्धार, प्राथमिक उपचार तालिम सिकाइन्छ । उनीहरुलाई विभिन्न तालिमका बेला आवश्यक पर्ने फरकफरक प्रकारका पोशाकहरु उपलव्ध गराइन्छ । तालिममा उत्कृट प्रर्दशन क्याडेटलाई विभिन्न दज्र्यानी चिन्ह समेत प्रदान गर्दै दीक्षान्त समारोह आयाजना गरिन्छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।