डा. केसीका मागमा सहमतिको मस्यौदा तयार हुँदै

 आवाज संवाददाता     ९ श्रावण २०७३, आईतवार

विवादित मनमोहन अस्पताल वीरले किन्ने /

काठमाडौं, साउन ९/ विभिन्न बहानामा पटक-पटक ‘चोरबाटो’ छिराउन खोजिएको मनमोहन मेमोरियल मेडिकल कलेजको भौतिक संरचना अन्तत: वीर अस्पतालले किन्ने गरी सम्झौता हुने तय भएको छ।

डा. गोविन्द केसी र सरकारी पक्षबीचको वार्तामा मुख्य अवरोध बन्दै आएको मनमोहन कलेजको मुद्दा सल्टिएपछि दुई पक्षबीच हुने सम्झौताको अन्तिम मस्यौदा स्वास्थ्य मन्त्रालयमा बन्दै गरेको वार्तामा सहभागी स्रोतले बतायो।
आइतबार स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा विवादित मनमोहन अस्पतालको भौतिक संरचना वीर अस्पतालमा सञ्चालित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले खरिद गर्ने गरी सहमति भएको हो। सम्झौताको मस्यौदा टुंगिएपछि डा. केसीसँग अन्तिम सहमति लिन वार्ताटोलीका सदस्य केही बेरमा टिचिङ अस्पताल जानेछन्। अनसनरत केसीले यो सहमति स्वीकारेपछि सरकारी पक्षसँग आइतबारै सम्झौता हस्ताक्षर हुन सक्ने स्रोतले बतायो। स्रोतका अनुसार डा. केसीका अन्य मागमा पनि लगभग सहमति जुटेको छ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले थप मेडिकल कलेज खोल्न नसकिने निर्णय गर्दागर्दै एमालेको दबाबमा मनमोहन अस्पताललाई पटक–पटक ‘चोरबाटो’ मेडिकल कलेजको सम्बन्धन दिन खोजिएको थियो। केसीले भने प्राज्ञिक क्षमताले धान्नै नसक्ने गरी मेडिकल कलेज सम्बन्धन लगायत चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त भ्रष्टाचारविरुद्ध अनसन गर्दै आएका छन्। आठौं अनसनको आज १५औं दिन हो।
डा. केसी त्रिभुवन विश्वविद्यालयका उपकुलपति केदारभक्त माथेमाको प्रतिवेदनअनुसार आगामी १० वर्ष काठमाडौं उपत्यकाभित्र कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने पक्षमा छन्। यो सरकारले सैद्धान्तिक रूपमा स्वीकार गरिसकेको विषय हो। मनमोहनका हकमा भने सार्वजनिक प्रतिष्ठानका रूपमा भए पनि प्रवेश दिलाउन सरकार र एमालेले अन्तिमसम्म प्रयास गरेको थियो। केसीले भने सरकारीबाहेक अन्य कुनै पनि मोडल स्वीकार्य नभएको अडान लिए।

सेताेपाटीबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।