सूचनाको मूल्य ४८ हजार रुपैयाँ !

 आवाज संवाददाता     १० श्रावण २०७३, सोमबार

दोलखा, १० साउन/सार्वजनिक कार्यालयमा भएगरेका कामको सूचनाको मूल्य कति तिर्नुपर्ला ? पक्का पनि खासै मूल्य तिर्नुपर्दैन । तर दोलखाका एक नागरिकले डिभिजन सडक कार्यालयको सूचना माग गर्नका लागि ४८ हजार रुपैयाँ बढी रकम भुक्तानी गरेका छन् ।
जिरी नगरपालिका वडा नं. ९ का विश्वनीति प्रकाशमान सिंह पाख्रिनले सोमबार डिभिजन सडक कार्यालय चरिकोटमा सूचना बापत ४८ हजार २ सय १५ रुपैयाँ बुझाएका हुन् । पाख्रिनले डिभिजन सडक कार्यालयको २०७२ असोज १७ गते देखि २०७३ असार १७ गतेसम्म ६ पटक लिखित रुपमा सूचना माग गरेका थिए ।
सूचना मागकर्ता पाख्रिनलाई उनले माग गरेको ९ हजार ६ सय ४३ पेज सूचनाको प्रति पेज ५ रुपैयाँका दरले भुक्तानी गर्न कार्यालयका सूचना अधिकारी कृष्णकुमार महतोले पाख्रिनलाई गत असार १७ गते पत्राचार गरेका थिए । कार्यालयको पत्र अनुसार नियमानुसार लाग्ने दस्तुर सोमबार नगदै भुक्तानी गरेको पाख्रिनले बताए । उक्त रकम कार्यालयले नेपाल बैंकमा रहेको राजश्व खाता नं. १४२२७ मा दाखिला गरिने डिभिजन प्रमुख अशोक तिवारीले जानकारी दिए ।
पाख्रिनले डिभिजन सडक कार्यालयमा आर्थिक वर्ष २०६६÷०६७ देखि २०७१÷०७२ सम्मको आलेप प्रतिवेदन र मलेप प्रतिवेदनको प्रतिलिपि, २०६८ देखि २०७१ सम्मको सवारी लग बुकको प्रतिलिपि, २०६८ देखि २०७१ सम्मको मासिक र वार्षिक खर्च फाँटबारीको प्रतिलिपि माग गरेका थिए । सडक कार्यालयमार्फत सवारी साधानको दुरुपयोग गरी पहुँचवाला व्यक्तिहरुलाई जथाभावी सवारी प्रयोग गर्न दिने, विभिन्न अपारदर्शी रुपमा खर्च हुने गरेको भन्ने सुनेकाले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३(१) र ३(२) बमोजिम आफूले सूचना माग गरेको दाबी गरे ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३(३) ले राष्ट्रिय, अखण्डता, सुरक्षा, मौद्रिक हित विपरीत, व्यक्तिगत, अपराध अनुसन्धान जस्ता सूचना प्रवाह गर्नु नपर्ने उल्लेख छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ र नियमावली २०६५ को दफा ४ बमोजिम एफोर साइजको कागजको १० प्रतिसम्म निशुल्क र त्यसभन्दा बढी भएमा प्रति पेज ५ रुपैयाँको दरले सूचना मागकर्ताले नै दस्तुर तिर्नुपर्ने उल्लेख छ । डिभिजन सडक कार्यालय चरिकोटले पनि सोही नियम अनुसार दस्तुर लिएको जनाएको छ ।
सार्वजनिक निकायको सूचना माग गर्दा सबैंभन्दा बढी रकम भुक्तानी गर्ने देशमै आफैं भएको उनले दाबी गरे । “मैले यसअघि पनि जिविस दोलखा, खानेपानी डिभिजन, भूमिसुधार विभाग र सडक विभागमा समेत सूचना माग गर्दा तोकिएको दस्तुर भुक्तानी गरेको छु ।” उनले भने, “यस्ता सूचना माग गर्दा सर्वसाधारणलाई पनि हरेक गतिविधिको जानकारी हुने र कार्यालयलाई पनि सतर्क हुन सहयोग गर्छ ।”

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।