भदौ २ गतेदेखि दोलखा–काँकडभित्ता सिधा बस सेवा

 आवाज संवाददाता     ११ श्रावण २०७३, मंगलवार

दोलखा, ११ साउन, दोलखाको चरिकोटदेखि झापाको काँकडभित्तासम्म सिधा बस सेवा सञ्चालन हुने भएको छ । सुनकोसी नदीमा खुर्कोटमा पुल बनेको २ वर्षपछि दोलखाबाट पूर्वी नेपालसम्म सीधा बस सेवाले जोडिन लागेको हो ।
डेढ वर्षदेखि चरिकोटदेखि बर्दिबाससम्म सीधा बस सेवा सञ्चालन हुँदै आएको छ । सुनकोसी पुल बनेपछि जनकपुर अञ्चलका हिमाली र मधेस बीच बस सेवाले जोडेको हो । सीधा बस सेवा सञ्चालन भएपछि दोलखा, रामेछाप, सिन्धुली र मधेशी नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
दोलखा–काँकडभित्ता सिधा बस सेवा सञ्चालन गर्न दोलखाको रोल्वालिङ यातायात सहकारी संस्था र झापाको मेची यातायात बस व्यवसायी संघ बीच सम्झौता भएको छ । दुवै संस्थाले आन्तरिक तयारी गरेर आगामी भदौ २ गतेदेखि बस सेवा सुरु हुने रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष सुर्यबहादुर आचार्यले जानकारी दिए ।
बस सेवा सञ्चालन गर्न रोल्वालिङका तर्फबाट अध्यक्ष सुर्यबहादुर आचार्य सहितका पदाधिकारी र मेची यातायातका तर्फबाट अध्यक्ष श्रीप्रसाद मैनाली सहितका पदाधिकारी बीच सम्झौता भएको हो । रोल्वालिङ अध्यक्ष आचार्यले दोलखामा सेवा सञ्चालन गरिरहेका अरनिको यातायत सहितका अन्य व्यवसायीहरुसँग पनि समन्वय गरेर बस सेवा सञ्चालन हुने बताए ।

13686749_1064584973595166_6760995770632559294_nसिधा बस सेवा सञ्चालन भएपछि दोलखा र रामेछापबाट व्यवसाय र रोजगारका सिलसिलामा भारतको सिक्किम, दार्जिलिङ पुगेकाहरु प्रत्यक्ष लाभान्वित हुने छन् । त्यसैगरी पूर्वी नेपालबाट दोलखाको भ्रमणमा आउनेहरुलाई पनि सहज हुने छ । यात्रुहरुको माग र आवश्यकताका आधारमा सिधा बस सेवा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।
चरिकोटदेखि काँकडभित्तासम्मको दूरी ४ सय ६० किलोमिटर छ । दोलखादेखि सिन्धुलीसम्म रात्री सेवा सञ्चालन गर्न बन्देज गरेको र सडकको भौगोलिक अवस्था कठिन भएकाले दोलखाबाट दोलखाबाट दिउँसो बस छुट्ने र काँकडभित्ताबाट साँझ छुट्ने व्यवस्था मिलाउने तयारी छ । दुवै समितिको सम्झौता अनुसार काँकडभित्ताको व्यवस्थापनको जिम्मा मेची बस व्यवसायी संघले गर्ने र दोलखातिरको व्यवस्थापन रोल्वालिङले गर्ने छ । यात्रुको माग बमोजिम काँकडभित्तापछि जनकपुर र बीरगंजसम्म पनि सिधा बस सेवा सञ्चालन गर्ने उनले बताए ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले पूर्वी नेपालसम्म सिधा बस सेवाले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने र व्यवसायीक सम्बन्ध पनि विस्तार हुने बताए । सिधा बस सेवाले तराईबासी पनि दोलखा आउन थालेको बताए । उनले स्तरीय बस सेवा सञ्चालनका यातायात व्यवसायीहरुलाई अनुरोध गरे । पर्यटन प्रबद्र्धनका लागि दोलखाको भीमेश्वर, कालिञ्चोक मन्दिर सहित तराईका, बुढासुब्बा जानकी मन्दिरको सम्बन्ध जोड्नु पर्नेले उनले बताए ।
सुनकोसीमा पुल नहुँदा दोलखा र रामेछापबाट जनकपुर र सिन्धुली जान समेत काठमाडौंबाट घुम्नु पर्ने बाध्यता थियो । विगतको ३ दिनको यात्रा अहिले १० घण्टामा छोटिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF