१९ वैशाख २०८१, बुधवार

1st, May 2024, Wednesday

Aaawajonline.com

उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु

१८ मंसिर २०८०, सोमवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

१८ मंसिर २०८०, सोमवार

चरिकोटः बौद्ध धर्मसँग सम्बन्धित लहरे माने अनि मानेहरु दोलखाका हिमाली क्षेत्रमा प्रसस्तै छन् । स्थानीय ढुङ्गामाटो प्रयोगगरी बनाईएका यस्ता सम्पदाहरु २०७२ सालको आम विनाशकारी भूकम्पमा परी ध्वस्त भए । पूननिर्माण कालमा पनि ठूला ठूला सम्पदा पूनर्निमाणको प्राथमिकतामा परे । तर लहरेमाने अनि मानेहरु प्राथमिकतामा परेनन् । भगवान बुद्धको नाममा पूर्खाले निर्माण गरी समर्पण गरेका माने, लहरे माने आदिमा शिलामा कुँदीएका बौद्ध धर्मसँग सम्बन्धित देवताका आकृतिहरु, चक्र, बज्र, कालचक्र लगायतका आकृतिहरु अनि सम्बोटा लिपिमा बौद्ध मन्त्र लेखिएका शिलाहरु यत्र–तत्र छरिएको देख्दा विगु गाउँपालिका वडा नम्बर ७ विगुका आङनिमा शेर्पाको मन कुँडियो । केही वर्षसम्मत सायद पूनर्निमाण हुन्छ कि भन्ने आशा थियो तर कसैको दृष्टी नपरेपछि अब पनि पूर्खाको धरोहरहरु नजोगाउँने हो भने मासिएर जान्छन् भन्ने लागे पछि अब सम्पदा जोगाउन लाग्नु पर्छ भन्ने आवाज उनको अन्तर मनबाट आयो ।

सानै स्तरबाट भएपनि कामको सुरुवात गर्नु पर्छ भन्ने लागेपछि आफूले पहिले आफ्नै परिवार र आफन्तसँग सल्लाह गरे । अमेरिकामा रहेका आफन्तहरुबाट केही आर्थिक सहयोग मिल्ने आश्वासन पछि शेर्पाको लहरेमाने जिर्णोद्वार अभियान गत वर्ष  अर्थात २०७९ सालबाट सुरु भयो जुन निरन्तर जारी छ । बौद्ध धर्मको महत्वपूर्ण स्थल विगुबाटै लहरेमाने अनि मानेको उद्धार गर्नु पर्छ भन्दै स्थानीयहरुसँग सल्लाह गरे । स्थानीयहरु पनि श्रमदान गर्न सकारात्मक भएपछि पूनर्निमाण सुरु भयो । विगु र आसपासका क्षेत्रमा मात्रै ५४ वटा माने तथा लहरेमाने रहेकोमा गत वर्ष देखि हालसम्ममा २१ वटाको पूनिर्निमाण सम्पन्न भइसकेको छ । माने तथा लहरेमानेमा सिमेन्टको प्रयोग गर्ने चलन छैन । लहरेमाने सामान्यतयाः माने निर्माण गर्दा माटो तथा ढुङ्गाको प्रयोग गरिन्छ । लहरेमाने अनि मानेहरुको पूनर्निमाण सँगै छरिएका सम्पदाहरु यथास्थानमा संरक्षित हुन पुगेका छन् । बौद्धधर्मसँग सम्बन्धित चिन्ह, देवताका आकृतिहरु, सम्बोटा लिपिमा लेखिएका बौद्ध मन्त्रहरु कुँदिएका शिलालेख सुरक्षित भएका छन् । सानो प्रयासले लोपहुन लागेका सम्पदाहरु पूनः उठेकोमा आफूलाई आत्म सन्तुष्टी मिलेको शेर्पाले कुराकानीका क्रममा बताउनु भयो । 

अहिलेसम्म सम्पदा संरक्षण कार्यामा १० लाख बढी खर्च भएको उहाँले बताउनुभयो ।विगु गाउँपालिकाका आठ वटै वडाहरुमा गरी सरकारका तिनैतह तथा अन्य कुनै निकायको ध्यान नपुगेका करिब १२५ माने, लहरेमाने, भूमेथान तथा मन्दिर जस्ता सम्पदा रहेको उहाँको भनाई रहेको छ । सम्पदा पूनर्निमाणको कार्यलाइ जारी राख्ने योजना शेर्पाको रहेको छ । आफ्नो कार्यलाई स्थानीय वासिन्दाले साथ दिएको उहाँको अनुभव छ । लहरे माने अनि माने मात्र होइन विगु गाउँपालिका भित्रका उपेक्षमा परेका भूमेथान अनि मन्दिरको पनि जिर्णोद्वार गर्ने योजनामा शेर्पा हुनु हुन्छ । आफन्तहरुको सहयोग अनि सद्भाव तथा स्थानीयको सहयोग रहीरहेमा विगु गाउँपालिका भित्रका उपेक्षित स्थानीय सम्पदाको अबका तिन–चार वर्ष भित्र जिर्णोद्वार सम्पन्न गर्ने शेर्पाको लक्ष्य छ । शेर्पा सम्पदा निर्माणमा आफू पनि श्रमदान गर्नुहुन्छ स्थानीयलाई पनि श्रमदान गर्ने प्रेरित गर्नु हुन्छ । स्थानीयलेहरुले सम्पदाको महत्व बुझी आफ्नो अभियानमा श्रम गरिरहेको उहाँको भनाई छ । 

माध्यमिक तहसम्मको अध्ययन गर्नु भएका शेर्पाले ब्यावसायिक रुपमा चौंरी पालन देखि, गलैंचा कारखाना खोल्ने तथा रियल स्टेट सम्मको ब्यावसाय गर्नु भयो । तर यो क्रममा आफूले ब्यावसायलाई जहिले पनि साध्यको रुपमा नलिई जीवन गुजाराको साधनको रुपमा मात्र लिएको शेर्पा बताउनु हुन्छ । राजनीतिमा समेत सक्रीय शेर्पा तेह्रौं महाधिवेशनमा नेपाली काँग्रेसको महासमिति प्रतिनिधि बन्नु भयो , अनि गत स्थानिय निर्वाचनमा विगु गाउँपालिकाबाट उपाध्यक्षको प्रयासी भई पराजित हुनु भयो । राजनीति वा कुनै पेशामा लाग्दा पनि आफूले पदलाई महत्व नदिई समाजसेवाको साधनको रुपमा मात्र लिएको शेर्पा बताउनु हुन्छ ।  हाल उहाँ शेर्पा संघको उपाध्यक्ष समेत हुनुहुन्छ । पुराना सम्पदाको पूनर्निर्माण पछि विगु गाउँपालिका आन्तरिक र बाह्य पर्यटककालागि आकर्षक गन्तब्य बन्ने उहाँको विश्वास छ । यसबाट स्थानीयको आर्थिक अवस्थामा समेत सुधार हुने उहाँको अपेक्षा छ ।पूरानो सभ्यताको जगमा नै अहिलेको सभ्यता विकसित भएकोले प्राचिन सम्पदाहरु भावि पुस्ताकालागि सुरक्षित राख्नु वर्तमान पुस्ताको दायित्व हो भन्ने आफूलाई लागेकोले सम्पदा संरक्षण अभियानमा आफू लागेको शेपाको भनाई छ । ब्यावसाय, राजनीति अन्य कुरा भन्दा सम्पदा संरक्षण गर्दा जति आत्म सन्तुष्टी अन्यत्रबाट नमिलेको शेर्पाको अनुभव छ ।  पूनर्निर्माण गरेको लहरेमाने तथा माने(स्तुपा)हरुको यसै वर्ष बौद्ध परम्परा अनुसार उद्घाटन गर्ने योजना रहेको शेर्पाले कुराकानीका क्रममा सुनाउनु भयो ।